राैतहट, ३ भदौ । रौतहट – चन्द्रपुरकी रोशनी कुमारी साह अदालतमा झुटा विवरण पेश गरेको तथ्य बाहिर आएपछि अंशबण्डा विवादको मुद्दा थप चर्चामा आएको छ। श्रीमान् मिश्रीलाल साहले आफ्ना सन्तानको हकमा सुरक्षित गर्न किनेको जग्गा सम्बन्धमा रोशनीले अदालतमा गरेको दावी वास्तविकतासँग मेल नखाने प्रमाण खुलेको हो।
मामिला सुरु भयो जब रोशनी साहले रौतहट जिल्ला अदालतमा आफ्नो नाममा रहेको ३७०२ कित्ता नं.को ०–०–८–८ क्षेत्रफलको जग्गा किन्न आफ्नी दिदी ललिता कुमारी रौनियारसँग १९ लाख ऋण कर्जा लिएको भनेर प्रतिउत्तर दिइन्। उनले अदालतमा “ऋण अझै बुझाउन बाँकी रहेको” समेत दावी गरेकी थिइन्।
तर, ई–हाइवे न्यूजलाई प्राप्त कागजातअनुसार वास्तविकता फरक देखियो। मालपोत कार्यालयको लिखत अनुसार सो जग्गा रोशनीले २०७६ असोज ८ गते गणेश पौडेलबाट जम्मा ५ लाख १० हजार रुपैयाँमा खरिद गरेकी थिइन्। जग्गा दर्ता गर्दा १७ हजार ८५० रुपैयाँ दस्तुरसमेत तिरेको विवरणमा स्पष्ट देखिन्छ। यसरी पाँच लाखमै खरिद गरिएको जग्गालाई १९ लाख ऋण लिएर किनिएको भन्दै अदालतलाई गुमराहमा राख्नु कानुन विपरीत भएको प्रष्ट भएको कानुन व्यवसायीहरू बताउँछन्।
यस घटनाबारे श्रीमान् मिश्रीलाल साहले भने, “मैले आफ्ना सन्तानहरूको भविष्य सोचेर सस्तोमा पाइएको सो जग्गा श्रीमतीकै नाममा दर्ता गरिदिएको हुँ। तर पछि थाहा पाउँदा रोशनीले दिदी–भिनाजुको नाममा पास गर्ने तयारी गरेकी रहिछिन्। त्यसैले म बाध्य भएर अंशबण्डाको मुद्दा हाल्नुपर्यो।”
उनले रोशनीको दावीलाई असत्य सावित गर्ने तर्कसमेत प्रस्तुत गरे। मिश्रीलालका भिनाजु जितेन्द्र प्रसाद साह नेपाल प्रहरीमा नायव निरीक्षक (सई) पदमा कार्यरत छन्। सामान्य कर्मचारीको तलबबाट एकैपटक १९ लाख सापटी दिन असम्भव हुने बताउँदै उनले प्रश्न उठाए, “यदि त्यति ठूलो रकम दिन सके भने, त्यो कानुन विपरीतको आम्दानी हो कि रोशनीले अदालतलाई झुक्याएकी हुन्?”
यता, सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पनि रोशनी साह आफैंले श्रीमानकै सहयोगमा जग्गा किनेको स्वीकारेकी छिन्। तर, अदालतमा भने फरक बयान दिएकी देखिन्छिन्। मिश्रीलाल साह भन्छन्, “रोशनी प्रत्येक ठाउँमा फरक–फरक कुरा गर्छिन्। अदालत, मिडिया र अधिकारकर्मी सबैलाई भुल्याउने उनको प्रवृत्ति हो। वास्तविकता भने अदालतले पक्का गर्नेछ।”