जनकपुरधाम, २७ कात्तिक । मधेश प्रदेश सभाले पाँच जना सांसदको पद रिक्त रहेको जानकारी सार्वजनिक गरेको छ।
प्रदेश सभा सचिवालय धनुषाले बिहिवार जारी गरेको सूचनामा उल्लेख अनुसार प्रदेश सभा बैठकको अभिलेख र नेपालको संविधानको धारा १८७(१) बमोजिम ती सांसदहरूलाई पदमुक्त गरिएको हो।
सूचना अनुसार लगातार १० वटा बैठक अनुपस्थित रहेका कारण प्रदेश सभा सदस्यका रूपमा पद स्वतः रिक्त भएको जनाइएको छ। प्रदेश सभा सचिवालयका अनुसार २०८२ कात्तिक २७ गतेदेखि उनीहरू प्रदेश सभा सदस्य पदबाट स्वतः मुक्त भएका हुन्।
पद रिक्त हुने सांसदहरूमा सर्लाहीकी उमिला देवी सिंह, सप्तरीका मनिष कुमार सुमन, सर्लाहीका सञ्जय कुमार यादव, सर्लाहीका सिंहासन साद कवला र बाराका सावर शंकर प्रसाद कलवार रहेका छन्।
प्रदेश सभा सञ्चालन नियमावली, २०७४ को नियम १८(१) बमोजिम उक्त जानकारी सबै सरोकारवालाको जानकारीका लागि प्रकाशित गरिएको सचिवालयले जनाएको छ। जसमध्ये ४ जना जसपाका सांसद हुन ।