सप्तरी–२ बाट सतिश सिंह, महोत्तरी–४ बाट सरोज यादव चुनावी मैदानमा
राजविराज, ४ माघ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मधेश प्रदेशका पूर्व दुई मुख्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन्।
पूर्व मुख्यमन्त्री सतिश सिंह सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार घोषित भएका छन् भने अर्का पूर्व मुख्यमन्त्री सरोज यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्।
सप्तरी–२ बाट सतिश सिंहलाई स्वाभिमान पार्टीले प्रतिनिधि सभाको उम्मेदवारको रूपमा घोषणा गरेको हो। प्रदेश सरकार सञ्चालनको अनुभव बोकेका सिंहले मधेशका जनताको आवाज संघीय संसदमा बलियो रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।
यस्तै महोत्तरी–४ बाट सरोज यादवलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको उम्मेदवारका रूपमा अघि सारेको छ। संगठनात्मक सशक्तता र शासन अनुभवका कारण यादवलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ।
दुवै पूर्व मुख्यमन्त्री उम्मेदवार बनेसँगै सप्तरी र महोत्तरीमा राजनीतिक गतिविधि तीव्र बनेको छ। अनुभवी नेताहरूबीचको प्रतिस्पर्धाले यसपटकको प्रतिनिधि सभा निर्वाचन अझ रोचक र अर्थपूर्ण बन्ने अपेक्षा गरिएको छ।