२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

मधेस प्रदेशका ८ जिल्लाकै पत्रकार महासंघलाई प्रदेश सरकारको सहयोग : मन्त्री लेखी

कृष्ण मण्डल 

"गृह, सञ्चार तथा कानुन मन्त्रालयबाट आठ जिल्लाका पत्रकार महासंघ शाखाहरूलाई बजेट विनियोजन"

जनकपुरधाम, २६ जेठ । मधेस प्रदेश सरकारले पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि विशेष पहल थालेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा यस आर्थिक वर्षको बजेटमार्फत नेपाल पत्रकार महासंघका सप्तरीदेखि पर्सासम्मका आठवटै जिल्लामा सहयोग पुर्‍याउने निर्णय भएको छ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले उक्त जानकारी मधेस मिरर डटकमलाई दिएका हुन्। उनले भने, "मधेसको पत्रकारिता क्षेत्रलाई संस्थागत र पेशागत रुपमा थप सुदृढ गर्न सरकार प्रतिबद्ध छ। बजेटको माध्यमबाट आवश्यक पूर्वाधार, प्रविधि र तालिमका लागि सहयोग गरिनेछ।"

सशक्त पत्रकारिता र सूचना पहुँचको आधार निर्माण

मन्त्री लेखीका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लाका पत्रकार महासंघका शाखाहरूलाई प्रदेश सरकारले प्रत्यक्ष रूपमा बजेट विनियोजन गरी सहयोग गर्नेछ। यस सहयोगअन्तर्गत पत्रकार महासंघका जिल्लास्तरीय कार्यालयहरूलाई आवश्यक उपकरण, कार्यालय सञ्चालन सहयोग, तालिम कार्यक्रम तथा पत्रकार सुरक्षासम्बन्धी पहलहरूमा प्राथमिकता दिइने बताइएको छ।

मूल उद्देश्य: प्रेस स्वतन्त्रता र पत्रकारको सशक्तिकरण

मन्त्री लेखीले भने, "प्रदेश सरकारले पत्रकारलाई न्युजरुमदेखि फिल्डसम्म सुरक्षित र सक्षम बनाउने वातावरण तयार गर्न यो सहयोग महत्वपूर्ण हुनेछ। सूचना प्रवाहलाई जनमुखी र तथ्यपरक बनाउने हाम्रो लक्ष्य हो।"

उनले आगामी वर्षहरूमा पत्रकार महासंघसँग साझेदारी गरी नीतिगत सुधार, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, र फेक न्यूज नियन्त्रण जस्ता विषयमा पनि काम गरिने जानकारी दिए।

प्रतिक्रिया