२०८३ साल जेठ १२ गते मङ्गलबार

अब पापको घडा भरिसक्यो : अध्यक्ष महतो

काठमाडौं, ०४ बैशाख । सहकारी, लघुवित्त तथा बैंकिङ ठगीका कारण पीडित बनेका नागरिकहरूको आवाज बुलन्द गर्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको रवैयाप्रति कडा असन्तोष व्यक्त गर्नुभएको छ।

वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा शान्ति बाटिकामा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले भन्नुभयो, “अब पापको घडा भरिसक्यो, जुनसुकै बेला फुट्न सक्छ।”

उहाँले देशका विभिन्न भागबाट ठगिएका सहकारी, लघुवित्त, बैंक पीडितहरू वर्षौंदेखि अन्यायको मारमा परिरहेको उल्लेख गर्दै भन्नुभयो, “सडकमा आन्दोलित जनता गरिब छन्, पीडित छन्, शोषित छन्, तर सरकार तिनका घाउमा मलम लगाउने होइन, नून छर्कने काम गरिरहेको छ।”

महतोले हालसम्म भएका सम्झौता तथा वार्ताहरू कार्यान्वयन नभएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भन्नुभयो, “सरकार आफैं अभिभावक बन्नुको सट्टा शोषकको रूपमा देखा परेको छ। यही प्रवृत्तिका कारण जनताको राज्यप्रतिको विश्वास हराउँदै गएको हो।”

उहाँले सहकारी तथा लघुवित्त पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब 'अलपत्र विश्वास'को भरमा अघि नबढ्ने प्रष्ट पार्नुभयो। “अब आन्दोलन एकीकृत र संगठित रूपमा अघि बढ्नेछ,” उहाँको भनाइ थियो।

महतोले आर्थिक न्याय, समानता र वित्तीय शोषणको अन्त्यका लागि सम्पूर्ण नागरिक समाज, अभियानी समूह, पीडित वर्ग र सरोकारवालाहरूलाई आन्दोलनमा ऐक्यबद्ध हुन आह्वान गर्नुभयो।

बिगत दुई वर्षदेखि देशका विभिन्न स्थानमा सहकारी र वित्तीय संस्थाबाट ठगिएका नागरिकहरू निरन्तर संघर्षरत छन्। यद्यपि, पीडितहरूको माग सम्बोधन गर्ने सरकारी इच्छाशक्ति अझै कमजोर देखिएको महतोको टिप्पणी थियो।

प्रतिक्रिया