राजबिराज , ३१ भदौ । जेन–जी आन्दोलन पछि राजविराज बजार क्षेत्रमा जम्मा भएको फोहोरकाे व्यवस्थापन स्वरुप सरसफाइ सुरु भएको छ ।
राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत प्रविनको अपिलपछि स्थानीय युवा, विद्यार्थी, प्रहरी, कर्मचारी, जनप्रतिनिधि, राजनीतिकर्मी, पत्रकार र नागरिक अगुवाहरूले मंगलबार बिहानैदेखि संयुक्त सरसफाइ अभियान थालेका हुन् ।
नगरकाे सडक र सडक किनार आसपास छरिएका प्लास्टिक, बोतल, खरानीलगायत फोहोर उठाउने काम भइरहेको छ । आन्दोलनका क्रममा नगरपालिकाको फोहोर उठाउने गाडीमा आगजनी भएपछि गत मंगलबारदेखि बजार क्षेत्रमा फोहोर थुप्रिएको थियो ।
आन्दोलनपछि अवस्था सामान्य बन्दै गएपछि केही सार्वजनिक निकायले आफ्ना कार्यालयमा सरसफाइ गरी आंशिक रूपमा सेवा सञ्चालन थालेका छन् । राजविराज नगरपालिकाका अधिकांश वडा कार्यालयहरूले पनि सेवा सञ्चालन गरिरहेका छन् ।
आगजनीका कारण नगरपालिकामा भएको क्षतिको विवरण संकलन कार्य अन्तिम चरणमा पुगेको कार्यवाहक मेयर प्रविनले जानकारी दिनुभयो । क्षतिको विवरण संकलन सम्पन्न भएपछि नगरपालिकाबाट वैकल्पिक सेवा प्रवाह गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।