कृष्ण मण्डल
राजविराज, २० माघ । जनाधिकार पार्टीका अध्यक्ष शरत सिंह यादवले मधेस प्रदेशलाई केन्द्रमा राखेर नयाँ क्षेत्रीय राजनीतिक अवधारणा अघि सार्दै प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन्।
मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफ्नो पार्टी क्षेत्रीय दलको रूपमा रहने स्पष्ट पारे। नयाँ पार्टी भएकाले संगठन विस्तार र विभिन्न तयारीका क्रममा यसपटक मधेस प्रदेशका ६ वटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार खडा गर्न सकिएको उनले बताए।
यादवले अघि सारेको विकास अवधारणालाई भारतको गुजरात राज्यको विकास मोडेलसँग तुलना गर्दै यसलाई “मधेस मोडेल” को संज्ञा दिएका छन्। मधेस प्रदेशलाई विकास, आत्मनिर्भरता र राष्ट्रिय समृद्धिको आधार बनाउने लक्ष्यसहित उक्त मोडेल तयार गरिएको उनको भनाइ छ।
UNDP को मार्गनिर्देशनलाई आधार मानेर जनाधिकार पार्टीले कृषि क्रान्ति, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगलाई प्राथमिकतामा राखेको जनाएको छ। यस मोडेलमार्फत मधेस प्रदेशलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने पार्टीको दाबी छ।
यसैक्रममा, पार्टी अध्यक्ष यादव स्वयं सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। उनको उम्मेदवारीसँगै सो क्षेत्रमा पूर्व सहकर्मी डा. सिके राउत र सतिश सिंहसँग कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।