काठमाडौं, १२ जेठ । बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन् ।
लालु यादवले सामाजिक सञ्जाल एक्समा अबदेखि तेज प्रतापको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका नहुने बताएका छन्।
उनले भनेका छन्,‘निजी जीवनमा नैतिक मूल्यमान्यतालाई बेवास्ता गर्नाले सामाजिक न्यायको लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ। जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्यमान्यता र परम्परा अनुरूप छैन।’
लालु यादवले परिस्थितिका कारण आफ्नो छोरालाई पार्टी र परिवारबाट हटाएको बताए। उनले अबदेखि तेजप्रतापको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका नहुने भन्दै ६ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जनाए।
उनले भने, ‘उहाँ आफैँ आफ्नो व्यक्तिगत जीवनको राम्रो र नराम्रो, गुण र दोष हेर्न सक्षम हुनुहुन्छ। उहाँसँग सम्बन्ध राख्ने जो कोहीले आफ्नै विवेकमा निर्णय लिनुपर्छ।’
यसअघि आरजेडी नेता तेजप्रताप यादवको फेसबुक अकाउन्टबाट एउटा पोस्ट गरिएको समाचार अनपुर्णा पाेष्टले लेखेका छन् । त्यसपछि तेजप्रताप यादवले इन्स्टाग्राममा पोस्ट गर्दै आफ्नो सामाजिक सञ्जाल ह्याक भएको र आफ्ना तस्बिरहरू गलत तरिकाले सम्पादन गरिएको बताएका थिए।