राजबिराज, १३ माघ । सप्तरीमा भारतीय रुपैयाँको चरम अभावले भारु नोट खोज्ने सर्वसाधारणले बैंक देखी बजारका पसल समेतबाट रित्तो हात फर्किने गरेका छन ।
कहि कतै पाईहाले पनि अबैध कारोबारीले ७ देखी ९ रुपैया सम्म बट्टा लिएर भारु सटही गर्ने थालेको पिडीतहरुले गुनासो गरेका छन । उपचार, शिक्षा, भारतीय बजारमा किनमेल तथा तीर्थ यात्रा लगायतका कामका लागी दैनिक सय देखी डेढ सय जना सम्म सर्वसाधारण भारतीय नोटका लागी सदरमुकाम राजविराज स्थित बैंक तथा पसलहरुमा आउने गरेका छन ।
खासगरी अहिले भारतको प्रयागराजमा लागेको कुम्भ मेला भर्न जान चाहने तीर्थयात्रीको संख्या ह्वातै बढेको छ । तर बजारमा भारु नोटको अभाव छोपी अबैध कारोवारीले सयकडा ७ देखी ९ रुपैया सम्म बट्टा लिने गरेको उनीहरुको गुनासो छ । विगतमा राजविराज स्थित राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारका सुविधाका लागी भारु सटही काउन्टर नै खोली सेवा प्रदान गर्दै आएको थियो । बैंकले घरकाजका लागी भन्दै प्रति निवेदन १ हजार पाँच सय र उपचारका लागी पाँच हजार पाच हजार भारु दिदै आएको थियो । तर सो सुविधा बैंकले विगत ८ वर्ष देखी बन्द गर्दा सर्वसाधारण मारमा परेका हुन ।
यसै विषयलाई लिएर आईतवार राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीले उक्त सटही काउन्टर सेवा पुनःसंचालनको माग गर्दै राजबिराज स्थित रहेको राष्ट्रिय बाणिज्य बैंकलाई ज्ञापन पत्र बुझाएको छ । उक्त पार्टीका जिल्ला संयोजक दिपेन्द्र कुमार चौधरी तथा केन्द्रिय नेता गजेन्द्र मण्डल सहितको टोलीले बैंकका सहायक प्रबन्धक दिनेश खडगालाई बुझाएको ज्ञापन पत्रमा सात दिन भित्र बन्द रहेको भारु सटही काउन्टर पुनः संचालन गर्न माग गरिएको छ ।
अर्थमन्त्रालय, मधेश प्रदेश मुख्यमन्त्री परिषदको कार्यालय,नेपाल राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय तथा जिल्ला प्र्शासन कार्यालय सप्तरीलाई बोद्धार्थ समेत दिइएको ज्ञापन पत्रमा सर्वसाधरणको समस्यालाई ध्यानमा राखी अबिलम्ब भारु सटही काउन्टर खोल्न माग गरिएको छ ।
“भारत संगको नजिकको सीमानाका कारण तराई मधेशका जनताको त्यस तर्फ विभिन्न काम विषेशले आउजाउ हुने र भारुको आवश्य्क्ता पर्ने गरेको छ, ज्ञापन पत्रमा भनिएको छ— तर सहज ढंगमा स्थानीय बैैक र बजारमा भारु नोट उपलब्ध हुन नसक्दा यहाँका सर्वसाधारण महगो दरमा भारतीय मुद्रा साट्न बाध्य भएका छन ।”
ज्ञापन पत्र मार्फत सटहीको. समस्या समाधानका लागी सटही काउन्टर पुृनः संचालन र अनलाईन विनियम सेवाको विकल्प दिन माग गरिएको छ । बैंकका सहायक प्रबन्धक खडगाले ज्ञापन पत्र आवश्यक कार्याथ तत्कालै केन्द्रिय कार्यालयमा पठाउने प्रतिबद्धता जनाए । उनले भारु सटही काउन्टर पुनः संचालन कार्य आफ्नो हातमा नरहेको तथा यसका लागी नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय बाणिज्य बैंकको माथिल्लो निकायमा आफुले पहल गर्ने बताएका छन ।
सीमावर्ती भारतीय बजारमा समेत अहिले नेपाली रुपैयाबाट भारु रुपैया साटदा थप शुल्क भन्दै सयकडा सात देखी नौ रुपैया बट्टा लिने गरेको भन्दै स्थानीयले. अबिलम्ब उक्त समस्या समाधान गर्न माग गरेका छन ।