२०८३ साल ब‌ैशाख ७ गते सोमबार

बिहारमा पहिलो चरणको मतदान सुरू, १८ जिल्लाका १२१ क्षेत्रमा मतदाता लाइनमा

राजबिराज, २० कार्तिक । भारतको बिहार राज्यमा बिहीबारदेखि विधानसभाको पहिलो चरणको मतदान सुरू भएको छ। केही बेरअघि मतदान सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस चरणअन्तर्गत प्रदेशका १८ जिल्लाका १२१ विधानसभा क्षेत्रमा मतदाता आफ्ना जनप्रतिनिधि चयन गर्न मतदानमा सहभागी भइरहेका छन्। राजधानी पटनामा समेत बिहानैदेखि मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन्।

पहिलो चरणकै मतदानमा उपमुख्यमन्त्रीहरू सम्राट चौधरी र विजय सिन्हा तथा राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवलगायतका ठूला नेताहरूको राजनीतिक भविष्य निर्धारण हुने भएको छ।

शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न भारतको निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको छ।

बिहार विधानसभाको दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका १२२ निर्वाचन क्षेत्रमा हुनेछ। परिणाम नोभेम्बर १४ मा सार्वजनिक गरिने भारतीय निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया