२०८२ साल असार २८ गते शनिवार

भारदह-डाढा पकरी सडक निर्माण अलपत्र, स्थानीयद्वारा सिडियाेलाई ध्यानाकर्षण

राजविराज, ४ असार । सप्तरीको पूर्वी भेगमा पर्ने भारदह–मिलन चौक (डाहा)–पकरी सडक खण्ड लामो समयदेखि अलपत्र छाडिँदा स्थानीयवासीले प्रमुख जिल्ला अधिकारीलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

राजविराज–कञ्चनपुर हुलाकी सडकसँग जोडिने यो सडक राजविराज हुँदै मधेश प्रदेशका लागि महत्त्वपूर्ण आवागमन मार्ग हो। तर, वर्षौंदेखि निर्माण कार्य अलपत्र छाडिँदा बर्षायाममा सडक पूर्णरूपमा बन्द हुने अवस्था आउने गरेको स्थानीयको गुनासो छ।

सडक निर्माणको ठेक्का “एम/एस शाह/दिवा जेभी, सातदोबाटे ललितपुर” नामक कम्पनीले पाएको र सम्झौताअनुसार २०७९ सालमै निर्माण कार्य सकिनुपर्ने भए पनि अहिलेसम्म पनि काम सम्पन्न नहुँदा जनजिवन प्रभावित भएको स्थानीयले बताएका छन्।

साथै, राजविराज–कञ्चनपुर हुलाकी सडक खण्ड अन्तर्गत कृष्णासवरण गाउँपालिका–४;को बलौनीस्थित खोलामा पुल निर्माण कार्य पनि अधुरो अवस्थामा रहेकाले सो खण्डमा समेत सवारी आवागमनमा समस्या भएको उल्लेख गरिएको छ।

पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता भएपछि राजविराजका पत्रकार, समाजसेवी र स्थानीय अगुवाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्य सम्पन्न गर्न माग गरेका हुन्। ज्ञापनपत्रमा समस्या समाधान नगरे सडक अवरुद्ध गर्ने चेतावनी समेत उल्लेख गरिएको छ।

ज्ञापनपत्र बुझाउनेमा विकाश कुमार तिवारी, तिलेश्वर मण्डल , मनोज कुमार यादव, रामदेव यादव, राजकिशोर शाह, सुर्यनरायण साह लगायतका स्थानीय सरोकारवाला रहेको थियोे ।

प्रतिक्रिया