राजबिराज, ६ भदौ । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको सात दिनसम्म चलेको बैठकले मुलुक गहिरो राजनीतिक संकट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापनको अवस्थामा पुगेको ठहर गरेको छ ।
अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा सम्पन्न बैठकपछि शुक्रबार जारी विज्ञप्तिमा २०७२ को संविधानलाई “गोर्खाली औपनिवेशिक मानसिकताको कानूनी मान्यता” भन्दै यसले मधेशी, थारु, आदिवासी, मुस्लिम, दलित लगायत समुदायलाई राज्यबाट बहिष्कृत गरेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री केपी ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकारले सत्ता केन्द्रीकरण, भ्रष्टाचार र निरंकुशतालाई प्रश्रय दिँदै मुकुम्लुङ (ताप्लेजुङ) मा दमन तथा सप्तरीका लालु यादवमाथि गोली प्रहारजस्ता घटनाबाट राज्य आतंक फैलाएको उल्लेख छ ।
आन्दोलन र एजेन्डा
पार्टीले सबै उत्पीडित समुदायलाई एकताबद्ध गर्दै बहुल–राष्ट्रिय राज्य निर्माणको एजेन्डा अघि सार्ने घोषणा गरेको छ । साथै, २०८२ सालमा राष्ट्रव्यापी जनआन्दोलन सुरु गर्ने, सहकारी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय समुदाय (संयुक्त राष्ट्रसंघ, अधिकारवादी संगठनहरू) सँग समन्वय गर्ने योजना सार्वजनिक गरेको छ ।
सरकारलाई माग
बैठकले हालै आएको बाढी–पहिरो प्रभावितलाई तत्काल राहत दिन, तराई–मधेशमा फैलिएको सुखाग्रस्त अवस्था अन्त्य गर्न, मरुभूमिकरण रोक्न, खानेपानी समस्या समाधान गर्न तथा किसानलाई मल–खाद सहज रूपमा उपलब्ध गराउन माग गरेको छ ।
त्यसैगरी मुकुम्लुङमा केवलकार निर्माण तत्काल रोक्न, धार्के सडक विस्तारका समस्या समाधान गर्न र राजविराजमा लामो समयदेखि जारी बिटौरी जग्गा विवाद टुंग्याउन पनि सरकारलाई आग्रह गरिएको छ ।
संगठन विस्तार
मधेशीहरुको सम्मान र स्वाभिमान संरक्षणका लागि काठमाडौंमा “स्वनिगः मधेश समन्वय समिति” गठन गरिएको छ । जसमा कौशल कुमार सिंहलाई प्रभारी, कौशलेन्द्र शर्मालाई सहप्रभारी र राम प्रवेश साहलाई सदस्यको जिम्मेवारी दिइएको छ ।
यस्तै, भाद्र ८ गतेदेखि असोज २२ गतेसम्म “स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद” सिद्धान्तअनुसार संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
तोकिएका जिम्मेवारी
प्रथम चरणमा ४० जिल्लामा प्रभारी र सहप्रभारी तोक्ने निर्णयअनुसार मधेशका विभिन्न जिल्लामा निम्नानुसार जिम्मेवारी तोकिएको छ :
सप्तरी : केशव झा (प्रभारी), गजेन्द्र कुमार मण्डल (सहप्रभारी) मोरङ : चन्द्र प्रसाद राजवंशी (प्रभारी) सुनसरी : सन्तोष मेहता (प्रभारी), प्रा. कुन्जीलाल यादव (सहप्रभारी) सिरहा : अनिल कुमार सिंह (प्रभारी) धनुषा : डा. राजिव झा (प्रभारी), संजय चौधरी (सहप्रभारी) महोत्तरी : रमण पाण्डेय (प्रभारी) सर्लाही : राम नरेश राय (प्रभारी), मो. हुसेन खान (सहप्रभारी), गौरीनारायण साह (सहप्रभारी) रौतहट : जयलाल साह (प्रभारी), मो. शेख मंजिर (सहप्रभारी) बारा : अनिल महासेठ (प्रभारी),पर्सा : नेजामुद्दिन समानी (प्रभारी) पार्टीले संगठन विस्तारसँगै आन्दोलनलाई जनस्तरसम्म पुर्याउने र “बहुल–राष्ट्रिय राज्य” निर्माण अभियानलाई थप गतिशील बनाउने प्रतिबद्धता जनाएको छ ।