राजबिराज, ३० जेठ । राजविराज नगरपालिकाका कर्मचारीमाथि भएको कुटपिट र धम्कीप्रति नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, इकाइ समिति राजविराजले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
जेठ २७ गते प्रमुख प्रशासकीय अधिकृतको हाजिरी विवाद भइरहेका बेला, नगरपालिकाका निलम्बित मेयर भीमराज यादव, योजना शाखा प्रमुख मनोज कुमार यादव, आन्दोलनकारी सुधीर यादवसहितको समूहले शान्तिपूर्ण रूपमा उभिरहेका नगरपालिकाकाे कर्मचारीमाथि पूर्वनियोजित रूपमा कुटपिट तथा दुर्व्यवहार गरेको समितिका अध्यक्ष कल्पना देव शुक्रबार राजबिराजमा पत्रकार सम्मेलन गरी बताएका हुन ।
ईकाइ समितिकी अध्यक्ष कल्पना देवका अनुसार उक्त समूहले उनलाई, लेखा अधिकृत शत्रुधनलाल दास, र शहरी स्वास्थ्य क्लिनिकका अ.हे.ब. सन्तोष कुमार दासलाई गालीगलौज गर्दै सडकमा घिसारेर ज्यान मार्ने धम्कीसमेत दिएको र कुटपिट गरेर लेखा अधिकृतको सुनको सिक्री लुटपाट गरेको दाबी गरिएको छ। साथै सब इन्जिनियर रविन्द्र कुमार यादवमाथि पनि डेरामा पुगेर अपमानजनक व्यवहार गरिएको जनाइएको छ।
संविधानको मर्मअनुसार जनसेवामा समर्पित कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको र यस्तो कार्यले कर्मचारीको मनोबल खस्किएको भन्दै घोर भर्त्सना गरिएको छ। साथै, दोषीहरूमाथि कानुनी कारबाही गर्न, कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न तथा भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चित गर्न माग गरिएको छ।
ईकाइ समितिले कारबाही र क्षतिपूर्ति नभएसम्म अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय लिएको जनाएको छ। यस निर्णयअनुसार राजविराज नगरपालिकाका नियमित सेवा प्रवाह प्रभावित हुने स्पष्ट गरिएको छ।