राजबिराज, २४ कार्तिक । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको नवजात शिशु सघन कक्ष (एनआइसीयू) मा आइतबार साँझ सर्टसर्किट हुँदा एक शिशु घाइते भएका छन्।
रूपनी गाउँपालिका–स्थित हर्दियाकी रेखा यादवको नवजात शिशुमाथि एनआइसीयू वार्डको विद्युतीय बल्ब सर्टसर्किट भएर झर्दा आगोको छिटा परेपछि बालक घाइते भएका हुन्।
घटनापछि आक्रोशित परिवारजन र जेन–जी समुहका युवाहरूले अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै केहीबेर अघि अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. दिलिप साहमाथि हातपात गरेका छन्।
घाइते शिशुलाई तुरुन्तै थप उपचारका लागि धरान पठाइएको अस्पताल स्रोतले जनाएको छ। “सर्टसर्किटपछि म घटनास्थलमा अनुगमन गर्न पुगेको थिएँ, सोही बेला अचानक आक्रोशित युवाहरूले हातपात गरे,” निमित्त मेसु साहले बताउनुभयो।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले घटनास्थलमा प्रहरी परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिनुभयो।
अस्पताल प्रशासनका अनुसार, हातपात गर्ने व्यक्तिलाई पक्राउ नगरिएसम्म चिकित्सकहरूले इमर्जेन्सी सेवासमेत बन्द गरेर धर्ना दिन बाध्य हुने चेतावनी दिएका छन्।
उता घाइते शिशुका परिवारजन र जेन–जी समूहका युवाहरूको भीड अस्पताल परिसरमा यथावत् छ। उनीहरूले “अस्पतालको दुरावस्था र बेवास्ता” विरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाहीको माग गरिरहेका छन्।
स्थानीय प्रशासनले दुवै पक्षबीच समन्वय गरी स्थिति थप बिग्रिन नदिन प्रयास गरिरहेको जनाएको छ।