राजविराज, असार ११ । सप्तरीमा प्रहरी प्रमुखका रूपमा ढकेन्द्र खतिवडा नियुक्त भएयता फरार रहेका ४०४ जना प्रतिवादी पक्राउ परेका छन् । खतिवडाको कार्यकालमा सप्तरी प्रहरीले विभिन्न सफलतासहितको विवरण सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट जम्मा २६ लाख ६१ हजार २५२ रुपैयाँ जरिवाना असुल गरिएको छ भने १०१ वर्ष १० महिना १० दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको छ ।
प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतद्वारा जारी विज्ञप्ति अनुसार, लागूऔषध नियन्त्रण अभियान अन्तर्गत ६ हजार ६६६ किलो ९२१ ग्राम गाँजा, १.४ ग्राम ब्राउन सुगर र ८७२ थान विभिन्न प्रकारका लागूपदार्थ बरामद गरिएका छन् । सो अवधिमा ३५ जना लागूपदार्थ कारोबारी पक्राउ गरिएका मध्ये ३१ जनामाथि मुद्दा दायर गरिएको छ ।
त्यसैगरी, रु २ करोड ५८ लाख ६४ हजार बराबरको अवैध रूपमा भन्सार छलि निकासी गरिएको सामान नियन्त्रणमा लिएर सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । लागूपदार्थ र अवैध निकासीमा प्रयोग भएका १३ र ४६ वटा सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ ।
प्रहरी मनोबल अभिवृद्धि तथा सेवाग्राहीलाई लक्षित गर्दै पूर्वाधार विकासमा समेत काम अघि बढाइएको छ । जिल्लाका विभिन्न प्रहरी इकाइमा जुनियर प्रहरी अधिकृत, हवल्दार र जवानका लागि १० वटा एसी जडान गरी सञ्चालनमा ल्याइएको छ ।
खानेपानी डिभिजन कार्यालयसँगको सहकार्यमा प्रहरी कार्यालय परिसरभित्र सेवाग्राहीका लागि शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ भने उजुरी तथा निवेदन व्यवस्थापन सहज बनाउने उद्देश्यले दुई कोठे भवन निर्माण कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, सप्तरी उद्योग वाणिज्य संघसँगको समन्वयमा प्रहरी कार्यालयमा शुद्ध पिउने पानी उपलब्ध गराउन ४ थान वाटर प्युरिफायर (केन्ट) सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।