२०८२ साल असार २८ गते शनिवार

नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यात गर्न सुरु

काठमाडौं, १ असार । नेपालले इतिहासमै पहिलोपटक शनिबारदेखि बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात गर्न थालेको छ। वर्षायाममा स्वदेशी मागभन्दा बढी विद्युत् उत्पादन भएको समयमा नेपालले तेस्रो मुलुक बंगलादेशमा बिजुली बिक्री सुरु गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले दक्षिण एसियामै पहिलोपटक तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने देश बनेको भन्दै यो क्षण ऐतिहासिक भएको बताएका छन्। मन्त्री खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ गते त्रिपक्षीय विद्युत् व्यापारसम्बन्धी सम्झौता भएको थियो।

यस सम्झौताअनुसार प्रत्येक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिनासम्म बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गरिनेछ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालका ऊर्जा मन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल तथा बंगलादेशका विद्युत् सल्लाहकार मोहमद फोजुल कविर खानले संयुक्त रूपमा स्विच अन गर्दै निर्यातको उद्घाटन गरेका थिए।

नेपालबाट निर्यात गरिने विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको मुजफ्फरपुर सबस्टेसन हुँदै भारतको बेहरामपुर र त्यहाँबाट बंगलादेशको भेडामारा ४०० केभी लाइनमार्फत पठाइनेछ।

नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत् आयोजनाबाट १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजनाबाट २१.४० मेगावाट गरी जम्मा ४० मेगावाट विद्युत् निर्यात गर्नेछ। पाँच वर्षसम्म चल्ने सम्झौताअनुसार २०२९ अक्टोबर २ तारिखसम्म बंगलादेशलाई बिजुली आपूर्ति गरिनेछ।

प्राधिकरणले बंगलादेशलाई प्रति युनिट ६.४० अमेरिकी सेन्टमा विद्युत् बिक्री गर्ने सहमति गरिसकेको छ। बिक्रीबाट एक दिनमै ४ लाख ७० हजार युनिट विद्युत् निर्यात गरिँदा ३० हजार ८० अमेरिकी डलर आम्दानी भएको छ।

नेपालले निर्यात गरेको बिजुलीको सम्पूर्ण कर, शुल्क, प्रसारण खर्च, चुहावट तथा व्यापारिक मार्जिन बंगलादेशले नै बेहोर्नेछ। बक्यौता भुक्तानी बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (BPDB) मार्फत गरिनेछ।

यसैसँगै, नेपालले क्षेत्रीय विद्युत् व्यापारमा नयाँ अध्याय सुरु गर्दै अन्तर्राष्ट्रिय विद्युत् बजारमा प्रवेश गरेको छ।


प्रतिक्रिया