२०८३ साल ब‌ैशाख ५ गते शनिवार

राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

राजबिराज , २ माघ । फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय आज विधिवत रूपमा उद्घाटन गरिएको छ।

राजविराज नगरपालिका कावा मेयर ईसरत प्रविणज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सप्तरी मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको हो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ईसरत प्रविणले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले निर्वाचन आयोग, सुरक्षा निकाय, प्रशासन र सञ्चार माध्यमबीचको समन्वयले मात्रै विश्वसनीय निर्वाचन सम्भव हुने उल्लेख गर्नुभयो।

प्रमुख निर्वाचन अधिकृत किशोर घिमिरेले निर्वाचनसम्बन्धी सम्पूर्ण कामलाई कानुन र विधि अनुसार अघि बढाइने स्पष्ट पार्दै मतदाता अधिकारको संरक्षण र निर्वाचन आचारसंहिताको पालना गराउन कार्यालय प्रतिबद्ध रहने बताउनुभयो।

आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको उक्त निर्वाचन कार्यालयले उम्मेदवारी दर्ता, निर्वाचन सामग्री व्यवस्थापन, मतदाता शिक्षालगायत निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यहरू सम्पादन गर्ने जनाइएको छ।

उद्घाटन समारोहमा आदरणीय प्रमुख निर्वाचन अधिकृत किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेल, नेपाली सेनाका सेनानी सोवित बहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख कुल चन्द नेपाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक डम्मर पुरी, निर्वाचन कार्यालय प्रमुख रमेश कुमार जोशी तथा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवलगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



प्रतिक्रिया