राजबिराज , १९ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरेको छ।
नगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप सो सम्मान प्रदान गरिएको हो।
सबैभन्दा उच्च ४.०० जिपिए ल्याउने जनता माध्यमिक विद्यालय शिशुवारीकी छात्रा कृतिका थापा मगरलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिनुभयो।
त्यसैगरी, सोही विद्यालयकी प्रतिमा मगरले ३.८३, अपन कार्कीले ३.८२, उदितनारायण महतोले ३.७२, जनता मावि कुशहाका चिरञ्जिवी चौधरीले ३.७९, मावि टिकुलियाका मिथिलेश कुमार यादव र मावि भेडियाका कृपा राउतले समान रूपमा ३.७० जिपिए प्राप्त गरेका थिए। यी विद्यार्थीहरूलाई जनही १५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको हो।
नगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरी ‘बालबालिका संरक्षण तथा शैक्षिक कार्यक्रम’ अन्तर्गत एसइईमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूसँगै उनीहरूका अभिभावकहरूलाई पनि सम्मान गरेको थियो।
सुरुङ्गा नगरपालिकाबाट यस वर्ष ५७८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए। तीमध्ये २५२ जना ग्रेडिङमा उत्तीर्ण भएका छन्। समग्रमा ४५.२१ प्रतिशत विद्यार्थी एसइईमा सफल भएका हुन्।