चन्दनकुमार यादव
राजविराज, २ असार । राजबिराज नगरपालिकाका कर्मचारीहरूले कार्यालयमा कुटपिट र दुर्व्यवहार गर्नेहरूलाई कारबाहीको माग गर्दै सोमबार पनि पेन डाउन गर्दै तेस्रो दिनसम्म सेवा प्रवाह ठप्प पारेका छन्।
नगरपालिकाका कर्मचारीहरू दोषीमाथि कानुनी कारबाही, कार्यस्थलको सुरक्षा प्रत्याभूति, तथा भयमुक्त वातावरणमा काम गर्ने सुनिश्चितता माग गर्दै पेन डाउन आन्दोलनमा रहेका हुन्।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज इकाईका अध्यक्ष कल्पना देवका अनुसार, नगरपालिकाभित्र काम गर्ने वातावरण असुरक्षित बनाइएकाले तत्काल दोषीमाथि कडा कानुनी कारबाही गरिनुपर्ने माग उठाइएको छ।
लेखा अधिकृत शत्रुधनलाल दासले आफूले व्यक्तिगत रूपमा सुरक्षा जोखिम महसुस गरिरहेको बताउँदै सुरक्षाको ग्यारेन्टी नभएसम्म कार्यालय नफर्किने अडान राखेका छन्। उनले आफूमाथि हिंसात्मक हमला भएको र साथमा रहेको सुनको सिक्रीसमेत लुटिएको दाबी गरेका छन्। "यो घटनापछि हामी सम्पूर्ण कर्मचारीहरू असुरक्षित महसुस गरिरहेका छौं, निर्धक्क भएर सेवा दिन सक्ने अवस्था छैन," दासले भने।
उनले हालसम्मको ११ महिनाको अवधिमा नगरपालिकाको केवल ११ प्रतिशत मात्रै विकास योजनाहरू सम्पन्न भएको, भने करिब ३८ देखि ४० प्रतिशत योजना मात्र सञ्चालनमा रहेको जानकारी दिए। उनको भनाइमा, जनताको सेवा प्रवाहमा आफू बाधक नभई घटनामा संलग्न दोषीहरूलाई कारबाही नगरेसम्म तथा सुरक्षित वातावरण नबनुन्जेल काममा फर्किने अवस्था छैन।
यही जेठ २७ गते मंगलबार प्रमुख प्रशासकीय अधिकृतको हाजिरी सुनिश्चित गर्ने विषयमा भइरहेको आन्दोलनका क्रममा, निलम्बित मेयर भिमराज यादव, योजना शाखा प्रमुख मनोज कुमार यादव, तथा आन्दोलनकारी सुधिर यादवसहितको समूहले नगरपालिकाका कर्मचारीहरूलाई पूर्व नियोजित ढंगले गालीगलौज र कुटपिट गरेको आरोप पीडित पक्षको छ।