२०८३ साल ब‌ैशाख ५ गते शनिवार

विलासिता कर खारेजीकाे माग गर्दै सप्तरी सुनचाँदी व्यवसायीहरु आन्दोलित

कृष्ण मण्डल 

राजबिराज, २९ जेठ । सुन र सुनका गरगहनामा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने मागसहित सप्तरीका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

बिहीबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफ्नो छ बुँदे माग सार्वजनिक गर्दै आन्दोलनमा उतिएका छन ।

सप्तरी सुनचाँदी उद्योग व्यवसायी संघका अध्यक्ष नारायण रञ्जनका अनुसार, विलासिता कर लागू भएसँगै हालको १३ प्रतिशत करमा थप दुई प्रतिशत जोडिँदा व्यवसायीले १९ प्रतिशतसम्म कर तिर्नु पर्ने अवस्था आएको छ, जसले प्रत्यक्ष रूपमा उपभोक्तालाई असर पारिरहेको छ। “यसले सुनको बजार मूल्य र बिलमा देखिने मूल्यमा पनि फरक पार्छ,” अध्यक्ष रञ्जनले बताए।

व्यवसायीहरूको मुख्य मागहरूमा हिरा र जवाहरात जडित गहनामा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने, सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहन गर्न आवश्यक ऐन, नियम तथा नीतिहरू बनाइनुपर्ने, र कर संरचना परिवर्तन गर्नु अघि त्यसले व्यवसाय, रोजगारी र बजारमा पार्ने दीर्घकालीन प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने रहेका छन्।

त्यस्तै, भारतमा झैं नेपालमा पनि सुनचाँदीको भन्सार दर ६ प्रतिशतमा सीमित राखिनुपर्ने माग गरिएको छ। साथै, विश्व बजारमा मान्य हुने गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको व्यवस्था गर्नुपर्ने र निर्यात ढुवानीमा लाग्ने २.५ प्रतिशत टीडीएस खारेज गरिनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन्।

बिहीबार सप्तरीका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु आफ्नो पसल बन्द गरी आन्दोलित भएको र याे क्रम भाेली शुक्रबार पनि जारी रहने साथै देशभरिमा कुल ६८ जिल्लामा एक साथ हामी आन्दोलनमा उत्रिन बाध्यता भएको सप्तरी सुनचाँदी रत्न संघको अध्यक्ष शत्रुधन ठाकुरले जानकारी दिए । 

प्रतिक्रिया