२०८३ साल ब‌ैशाख ७ गते सोमबार

फेसबुक दर्ताकाे लागि मातृ कम्पनी मेटाले आवश्यक कागजात मागे

काठमाडौँ, १९ भदौ । सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालमा सामाजिक सञ्जाल निष्क्रिय हुने परिस्थितिपछि फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा सूची दर्ताका लागि आवश्यक कागजातबारे जानकारी मागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाले प्रत्यक्ष रूपमा सरकारी संयन्त्रलाई होइन, बरु सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयमार्फत सम्पर्क गरेको हो। मेटाको सिंगापुरस्थित कार्यालयबाट पठाइएको इमेलमार्फत मन्त्री गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीसँग दर्ता प्रक्रिया सम्बन्धी आवश्यक कागजातबारे जिज्ञासा राखिएको उनले जानकारी दिए।

'हामीले इमेलमार्फत आवश्यक जानकारी पठाइसकेका छौं,' प्रवक्ता ठाकुरले बताए।

यसैबीच, हाम्रो पात्रोले पनि नेपालमा सूची दर्ता प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ। बिहीबार सो कम्पनीका प्रतिनिधिले मन्त्रालयसँग सम्पर्क गरी प्रक्रिया प्रारम्भ गरेको प्रवक्ता ठाकुरले बताए।

यसअघि मन्त्रालयले सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयका आधारमा २६ वटा सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने तयारी गरेको घोषणा गरेको थियो।

प्रतिक्रिया