२०८३ साल ब‌ैशाख ५ गते शनिवार

निर्णय गर्ने स्थान सम्म पहुँच बनाउन महिलाले दल भित्रै संघर्ष गर्नुपर्ने

राजविराज, २१ भदौ । निर्णय गर्ने ठाउँमा महिलाको पहुँच नभएको कारण महिलाहरुको अर्थपूर्ण सहभागिता नहुने गरेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

उनीहरुले सबै दलमा गुट उपगुट कायम रहेको र गुटको निर्णय सबैले मान्नुपर्ने बाध्यताका कारण महिलाहरु राजनीतिक दलको निर्णायक तहमा पुग्नबाट बञ्चित रहँदै आएको गुनासो पोखेका छन् ।

महिला महासंघ र संकल्प नेपालको सहयोगमा परिकल्पना नेपालले मंंगलबार राजविराजमा आयोजना गरेको निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता सम्बन्धमा छलफल कार्यक्रममा विभिन्न दलबाट सहभागि महिला नेतृहरुले निर्णायक ठाउँमा महिला पुगे प्रत्यक्ष चुनावमा टिकट लिएर प्रतिपस्पर्धा गर्न तयार रहेको बताईन् ।

प्रतिनिधिसभा सदस्य सरिता गिरीले निर्णय गर्ने स्थान सम्म पहुँच बनाउन महिलाले आ–आफ्नो दल भित्र संघर्ष गर्नुपर्ने बताईन् । ‘संघर्ष नगरे केही उपलब्धि हुँदैन, तर त्यो संगै सबल र सचेत बन्नुका साथै शिक्षित एवं क्षामतावान पनि बन्नु जरुरी छ’ उनले भनिन् ।

मधेश प्रद्रेशका प्रदेशसभा सदस्य गीता यादवले सम्पतीको अधिकार नभए सम्म निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता नहुने बताईन् । उनले आउने चुनावमा आ–आफ्नो दलभित्र संघर्ष गरेर प्रत्यक्षमा चुनाव लड्न महिलाहरुलाई आग्रह गरिन् ।

राजविराज नगरपालिकाका कार्यवाहक मेयर इससरत प्रवीणले महिलाको अर्थपूर्ण सहभागिताको लागि पहिला आफै आत्मनिर्भर बन्नु पर्ने बताईन् । ‘तपाईमा क्षामता छैन् भने पार्टीले किन टिकट दिएर उम्मेदवार बनाउँछ ?’ उनले प्रश्न गरिन् । महिलाहरुलाई शिक्षा र क्षामता विकासमा लाग्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा संविधानसभा सदस्य मुन्नी गुप्ता, कृष्णासवरण गाउँपालिकाका पुर्व उपाध्यक्ष मिना चौधरी, जनमतका पार्टीका ममता झा, लोसपाका पुनम यादव, अधिवक्ता मनु खनाल, नेकपा माओवादीका रुवी झा, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दहाल, पार्वती राउत सहितका महिलाको अर्थपूर्ण सहभागिता सन्दर्भमा आफ्नो विचार राखिन् । ४० जना महिला नेतृ सहभागि रहेको उक्त कार्यक्रमको उद्देश्यवारे सुधा देवले जानकारी गराउँदै सहभागिहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रिया