२०८२ साल असार २८ गते शनिवार

विवाहको चार दिनमै मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

राजबिराज , ४ असार । सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी चार दिन अघि मात्रै विवाह गरेका एक युवकको ज्यान गएको छ। शम्भुनाथ नगरपालिका–२ स्थित गोबिन्द चौक नजिकै पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट रुपनी गाउँपालिका–१ का २० वर्षीय मो. आजादको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.१ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्र.२–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका आजादलाई तत्काल रायपुरस्थित युनिक अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइए पनि उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

आजादको शव हाल गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको छ। स्थानीयका अनुसार आजादको विवाह चार दिन अघि मात्रै, आइतबार सुरुङा नगरपालिकाको करडबोनाकी सलमा खातुनसँग भएको थियो। विवाहमा उपहार स्वरूप दिएको मोटरसाइकलमै उनी सवार थिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार १७ वर्षीय मो. समिर पनि गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीका प्रवक्ता एव डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया