राजविराज, २६ जेठ । चुनावको समयमा राजबिराज नगरपालिकाका नेताहरूले जनतालाई दिएको वाचा र वर्तमानमा देखिएको गतिविधिबीच गम्भीर असन्तुलन देखिएको छ।
मत माग्न जादा जनताको विकास, सुशासन, पारदर्शिता र जनताको सेवामा समर्पित रहने प्रतिवद्धता जनाएका नेताहरूको अहिलेको व्यवहारले ती सबै वाचा खोक्रो सावित हुँदै गएको जनगुनासो छ।
हालै नगरपालिका भित्रका केही कर्मचारी तथा जनप्रतिनिधिहरूबीचको आन्तरिक कलह सार्वजनिक भएपछि पर्दा पछाडिका अनियमितता बाहिर आउन थालेका छन्। एकले अर्काको भ्रष्टाचार, कमिसन र कार्यशैलीमाथि लगाएका आरोपहरूले स्थानीय तहमा भइरहेको 'कालो खेल' जनतासामु प्रस्तुत भएको छ।
भण्डाफोरको राजनीति : पर्दा फाट्दै
नगरपालिकाका एक जनप्रतिनिधिले अर्को जनप्रतिनिधिमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लगाएका छन्। योजनामा बजेट हिनामिना, फर्जी बिलमार्फत रकम निकासा, पारदर्शिताको अभावजस्ता विषयले नगरवासीहरूलाई झस्काइरहेको छ।
"हामीले भोट दिँदा विकास देखिनेछ भनेर दिएका थियौं, अहिले त यहाँ विकासको नाममा कमिसनको खेती भएको छ," स्थानीय बासिन्दाहरु भन्न थालेका छन् ।
जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादले गर्दा नगरपालिकाको सेवा प्रवाहमा समेत असर परेको जनगुनासो छ। कतिपय स्रोतका अनुसार योजनामा बजेट पास गर्दा 'सहमति'को नाममा हिस्साबण्डा गरिन थालेको छ।
जनताले प्रश्न उठाउन थाले
जनताले अब प्रश्न गर्न थालेका छन्— "हिजो हामीसँग भोट माग्दा जुन मिठा भाषण दिनुभयो, आज त्यसको प्रतिबिम्ब तपाईहरूको यो ताण्डव नृत्यमा कसरी देख्न सक्छौं?"
विकासका काममा ढिलासुस्ती, गुणस्तरहीन काम, सार्वजनिक सुनुवाइको अभावजस्ता विषयले जनतामा आक्रोश फैलिएको छ। सानो काम गराउँदा समेत दलाली र पहुँचको खेल चल्न थालेको स्थानीयबासी बताउँछन्।
आगामी दिनमा के हुन्छ?
यदि यही अवस्थाको निरन्तरता रह्यो भने स्थानीय तहमा जनविश्वास गुम्ने खतरा बढ्दो छ। जानकारहरू भन्छन्, "जनप्रतिनिधि स्वयंले एकअर्काको भण्डाफोर गर्नु आफैमा ठूला प्रश्न चिन्ह हुन्। अब स्थानीय सरकार पूर्ण रुपमा छानबिनको दायरामा आउनुपर्छ।"
अब प्रश्न उठेको छ — राजबिराज नगरपालिकामा साँच्चिकै जनताको शासन छ, कि सत्ताको स्वार्थमा लुटतन्त्र चलिरहेको छ? भन्ने कुरा आमजनता बुझ्ने बेला भएको छ ।