२०८३ साल ब‌ैशाख ७ गते सोमबार

हावाहुरीका कारण कटारी मा दुई जनाको मृत्यु, पाँच जना घाइते

उदयपुर, ०३ चैत । उदयपुर जिल्ला को कटारी नगरपालिकामा वर्षासँगै आएको शक्तिशाली हावाहुरीका कारण भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार साँझ करिब ७:३० बजे कटारी नगरपालिका–५ तिनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको टिनको छाना र काठको बार भएको पसलसहितको घरमाथि नजिकै रहेको सुकेको सालको रुख हावाहुरीका कारण अचानक ढलेर घर किच्दा दुर्घटना भएको हो।

उक्त घटनामा ६४ वर्षीय वीरेन्द्र चौधरीलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। सोही घटनामा उनकी करिब ५ वर्षीया नातिनी बिनिषा चौधरीसहित पाँच जना घाइते भएका छन्। घाइते हुनेमा कटारी–३ आहालेडाँडाका २७ वर्षीय युवराज कार्की, कटारी–५ बलाहाका ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरूको कटारी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा २० जनाको टोली खटिएर उद्धार कार्य गरिएको थियो।

यसैबीच, सोही दिन साँझ करिब ७:३० बजे नै कटारी नगरपालिका–८ थलियाटारमा अर्को घटना भएको छ। स्थानीय मदनबहादुर तामाङकी ४९ वर्षीया श्रीमती मिनामाया तामाङ गोठबाट खसीबाख्रा घरतर्फ सार्ने क्रममा हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

उक्त घटनामा इलाका प्रहरी कार्यालय कटारीबाट ७ जनाको प्रहरी टोली खटिएर उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया