कृष्ण मण्डल
राजविराज, असार ८ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा निजी विद्यालयहरूको कक्षा स्तरोन्नति (अपग्रेड) सम्बन्धी विवाद चर्किँदै जाँदा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्।
विद्यालय स्तरोन्नतिको प्रक्रिया समयमै अगाडि नबढाइएको, ईएमआईएस (EMIS) प्रणाली सञ्चालन नगरिएको तथा शिक्षा प्रशासनले मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै उनीहरू केही दिनदेखि चरणबद्ध आन्दोलनमा छन्।
आन्दोलनको क्रममा आइतबार आन्दोलनकारीहरूले गाउँपालिकाको मुख्य बजार तथा विभिन्न सडक र गल्लीहरूको परिक्रमा गर्दै प्रदर्शन गरेका थिए।
त्यसैगरी सोमबार गाउँपालिका कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गरिएको थियो। प्रदर्शनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। केही समय आन्दोलनकारी शिक्षक र सुरक्षाकर्मीबीच घम्साघम्सीसमेत भएको छ ।
प्रदर्शनमा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले विभिन्न नारा लगाउँदै शिक्षा प्रशासनको ध्यानाकर्षण गराएका थिए। “ईएमआईएस समयमा खोल”, “हाम्रो भविष्य सुनिश्चित गर”, “शिक्षा हाम्रो अधिकार हो, भ्रष्टाचारको हतियार होइन”, “विद्यार्थीको भविष्यमाथि खेलवाड नगर”, “शिक्षा शाखाको दादागिरी बन्द गर”, “आश्वासन दिने शिक्षा शाखा होसमा आऊ”, “विद्यार्थीको भविष्य बिगार्न पाइँदैन”, “शिक्षा हाम्रो मौलिक अधिकार”, “उन्नति र समृद्धिको आधार”, “शिक्षाको विस्तार विकासको आधार” लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर उनीहरू सखडा बजार परिक्रमा गरेका थिए।
आन्दोलनरत शिक्षकहरूको आरोप छ कि गाउँपालिकाले हरेक वर्ष आवश्यक प्रक्रिया पूरा गरेका निजी विद्यालयलाई एक कक्षा थप्न अनुमति दिने व्यवस्था रहे पनि अनावश्यक ढिलाइ गर्दै विद्यालयहरूको शैक्षिक गतिविधिलाई प्रभावित बनाएको छ। शिक्षक जयप्रकाश यादवले विद्यालयहरूको वैधानिक माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए।
“हामी कुनै अवैधानिक माग लिएर आएका छैनौं। विगतदेखि चलिआएको प्रक्रिया अनुसार विद्यालय स्तरोन्नतिको अनुमति मागेका हौं। तर शिक्षा शाखा र जनप्रतिनिधिहरूले हाम्रो मागप्रति बेवास्ता गरिरहेका छन्,” उनले भने।
आन्दोलन घोषणा भएको भोलिपल्ट गाउँपालिकाले १५ दिने सूचना जारी गर्दै शिक्षा शाखा प्रमुखको संयाेजकत्मा तीन सदस्यीय समिति गठन गरेको थियो। गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष राईले विद्यालय स्तरोन्नति सम्बन्धी प्रक्रिया अगाडि बढिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि अनुमति प्रदान गरिने बताएका छन्।
“अघिल्लो वर्ष पनि अनुमति दिएकै हो। अहिले पनि प्रक्रिया अनुसार काम भइरहेको छ। केही प्राविधिक तथा प्रशासनिक विषय पूरा हुन बाँकी छन्,” राईले भने।
तर आन्दोलनरत पक्ष गाउँपालिकाको स्पष्टीकरणबाट सन्तुष्ट देखिएको छैन। शिक्षक बाबुनारायण मण्डलले गाउँपालिकाले समस्या समाधान गर्नुभन्दा आन्दोलनलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए।
“हामीलाई अधिकार अनुसार पाउनुपर्ने सेवा र सुविधा दिनुको सट्टा आश्वासन मात्रै बाँडिएको छ। यसले समस्या समाधान गर्दैन,” उनले भने।
त्रिमूर्ति स्कुलकी शिक्षिका नीतु पाण्डितले विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको विषयमा गाउँपालिकाले गम्भीरता नदेखाएको आरोप लगाइन्। उनका अनुसार विद्यालयमा विद्यार्थी भर्ना तथा ईएमआईएस प्रणालीमा विवरण प्रविष्ट गर्ने कार्य वैशाख महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि असार महिना समाप्त हुन लाग्दासमेत सम्बन्धित प्रणाली सञ्चालनमा आउन सकेको छैन।
“ईएमआईएस नखुल्दा विद्यार्थीहरूको तथ्यांक अद्यावधिक हुन सकेको छैन। यसले विद्यार्थीको शैक्षिक भविष्यमा प्रत्यक्ष असर पार्न सक्छ,” उनले भनिन्।
आन्दोलनका क्रममा सहभागी एक व्यक्तिले केही जिम्मेवार पक्षबाट घुस मागिएको आरोपसमेत लगाएका छन्। यद्यपि शिक्षा शाखा प्रमुख राईले उक्त आरोपलाई निराधार भएको दाबी गरेका छन्।
छिन्नमस्ता गाउँपालिकामा देखिएको यो विवाद केवल विद्यालय स्तरोन्नतिको विषयमा सीमित नभई स्थानीय शिक्षा प्रशासनको कार्यशैली, शैक्षिक व्यवस्थापन र विद्यार्थीको भविष्यसँग जोडिएको विषय बनेको आन्दोलनकारीहरूको भनाइ छ। उनीहरूले विद्यालय स्तरोन्नति प्रक्रिया शीघ्र टुंग्याउन, ईएमआईएस प्रणाली तत्काल सञ्चालन गर्न तथा शिक्षा प्रशासनलाई जवाफदेही बनाउन माग गरेका छन्।
शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी, शिक्षक र अभिभावक सडकमा उत्रिनु स्थानीय तहको शिक्षा व्यवस्थापनमाथि उठेको गम्भीर प्रश्नका रूपमा हेरिएको छ। अब गाउँपालिकाले संवाद र सहकार्यमार्फत विवाद समाधान गर्न नसके आन्दोलन अझ सशक्त बन्न सक्ने संकेत देखिएको छ।