काठमाडौं, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा सडक प्रदर्शन सुरू गरेको छ।
शनिबार बिहान अध्यक्ष ओलीलाई सरकारले पक्राउ गरेलगत्तै एमालेले आन्दोलनको घोषणा गरेको हो। त्यसअनुसार पार्टीका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा उनीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै “प्रतिशोधपूर्ण राजनीति बन्द गर” भन्ने नारा लगाइरहेका छन्।
यसैबीच, ललितपुरको च्यासलस्थित पार्टी सचिवालयमा बैठक जारी रहेको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने तयारी भइरहेको एमालेले जनाएको छ।
ओली पक्राउपछि एमालेका शीर्ष नेताहरूले तत्काल सडक आन्दोलनमा उत्रने चेतावनी दिएका थिए। सोही अनुसार पार्टीले औपचारिक निर्णयका लागि बैठक बसिरहेको र आन्दोलनलाई अझ सशक्त बनाउने संकेत देखिएको छ।
सरकारको पछिल्लो कदमप्रति एमालेले असन्तुष्टि जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ भने आगामी दिनमा थप कडा आन्दोलनका कार्यक्रम घोषणा हुने सम्भावना रहेको छ।