काठमाडौँ, २५ चैत । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ।
यसकै प्रभावले आज देशका सातै प्रदेशमा हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको जनाइएको छ। विशेषगरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने अनुमान छ।
त्यसैगरी कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा तथा मधेस प्रदेशसहित तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षा र हिमपात जारी रहनेछ।
मौसमविद्हरूले हावाहुरी, चट्याङ र असिनाबाट हुन सक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।