२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

जनजाति महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ तथा पदभार ग्रहण

रामनाथ चौधरी

महुली, ०३ वैशाख । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहणसहित औपचारिक रूपमा पदभार सम्हालेका छन्। सप्तरीको सितापुरमा बिहीबार आयोजित एक समारोहमा महासंघका नवनिर्वाचित नेतृत्वले जिम्मेवारी ग्रहण गरेका हुन्। कार्यक्रम महासंघका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षता तथा संघीय सचिवालयका उपाध्यक्ष रामकुमार सिंह दनुवारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

महासंघका पूर्व अध्यक्ष तथा पाँचौं जिल्ला अधिवेशनका निर्वाचन समिति संयोजक बृजमान तामाङले नवनिर्वाचित अध्यक्ष श्यामसुन्दर सिंह दनुवारलाई सपथ ग्रहण गराएका थिए। त्यसपछि अध्यक्ष दनुवारले अन्य पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराए।

सपथपश्चात प्रमुख अतिथि उपाध्यक्ष दनुवार, मधेश प्रदेश उपाध्यक्ष दिलकुमारी चौधरीलगायत अतिथिहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र, खादा, टीका र माला लगाएर पदस्थापन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि दनुवार, प्रदेश उपाध्यक्ष चौधरी, पूर्व विधायक सरस्वती चौधरी, महासंघका संस्थापक अध्यक्ष रघुकुमार सिंह थारु, पूर्व अध्यक्ष यमबहादुर खपाङ्गी मगर, जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष बेचनप्रसाद चौधरी, सल्लाहकार कुमारमान श्रेष्ठ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी थारु कल्याणकारी सभा सप्तरीका सभापति भूपेन्द्रप्रसाद चौधरी, नेपाल मगर संघ सप्तरीका अध्यक्ष लिलबहादुर मगर, दनुवार जागरण समिति सप्तरीका अध्यक्ष विन्देश्वरप्रसाद सिंह दनुवार, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव डम्बर राई तथा आदिवासी जनजाति पत्रकार महासंघका सदस्य दीपक सिंह दनुवारलगायतले पनि शुभकामना व्यक्त गरे।

निवर्तमान अध्यक्ष अरुण कुमार प्रधानले नवनिर्वाचित अध्यक्ष दनुवारलाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नयाँ नेतृत्वले आदिवासी जनजातिको हकअधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष दनुवारले महासंघजस्तो गरिमामय संस्थाको जिम्मेवारी पाएकोमा सबैको भावना समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रम कोषाध्यक्ष तथा नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङ र सचिव पूर्ण मगरले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष उपेश कुमार सिंह दनुवारले दिएका थिए।

गत चैत १४ गते सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट श्यामसुन्दर सिंह दनुवार अध्यक्षमा निर्वाचित भएका थिए। त्यसैगरी महिला उपाध्यक्षमा भद्रकुमारी लामा, सचिवमा पूर्ण मगर, सहसचिवमा रविना स्याङदन तामाङ र कोषाध्यक्षमा कल्पना राई चयन भएका थिए। सदस्यहरूमा हरिकाजी राई, मिरा श्रेष्ठ, रविमाया मगर, अम्विका सिंह दनुवार र मनिष भुजेल रहेका छन्।

यसैबीच, थारु कल्याणकारी सभा सप्तरीको सिफारिसअनुसार वरिष्ठ उपाध्यक्षमा मिलन चौधरी, सहसचिवमा गोपालप्रसाद चौधरी तथा सदस्यहरूमा देवकुमारी चौधरी, कल्पना चौधरी र ध्रुवकुमार चौधरीलाई निर्वाचन समितिले निर्वाचित घोषणा गरेको थियो। उनीहरूले पनि सोही दिन सपथ ग्रहण गरी पदभार सम्हालेका छन्।

प्रतिक्रिया