राजविराज १९ चैत । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) औपचारिक रूपमा सुरु भएको छ।
बिहान ८ बजेदेखि प्रारम्भ भएको परीक्षा यस वर्ष थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको हो।
सरकारले लागू गरेको नयाँ निर्देशिकाअनुसार परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षणसम्मको सम्पूर्ण प्रक्रियालाई छिटोछरितो, प्रभावकारी र प्रविधिमैत्री बनाउने तयारी गरिएको छ। यसले विगतमा देखिँदै आएका ढिलासुस्ती तथा अनियमिततामा कमी आउने विश्वास गरिएको छ। साथै, यस वर्ष नतिजा पनि अपेक्षाकृत छिटो सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
सप्तरी जिल्लाबाट यस वर्ष कुल ९ हजार २ सय ६९ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका छन्। जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका अनुसार सहभागीमध्ये ४ हजार ६ सय १६ जना छात्र र ४ हजार ६ सय ५३ जना छात्रा रहेका छन्, जसले जिल्लामा छात्र–छात्राको सन्तुलित सहभागिता देखाएको छ।
जिल्लाभरका १ सय ५० विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन्। तीमध्ये ९४ सामुदायिक र ५६ संस्थागत विद्यालय रहेका छन्। परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न ३९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
परीक्षाको मर्यादा कायम राख्न प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी कर्मचारीसहित आवश्यक जनशक्ति परिचालन गरिएको छ। साथै, नेपाल प्रहरीसहित अन्य सुरक्षा निकायसँग समन्वय गरी परीक्षा केन्द्रहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। अनियमितता नियन्त्रणका लागि निगरानीलाई समेत कडाइ गरिएको सम्बन्धित निकायले जनाएको छ।