२०८३ साल ब‌ैशाख ९ गते बुधबार

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा घोषणा, निष्पक्ष छानबिनको माग

काठमाडौं, — गृहमन्त्री सुदन गुरुङले आफ्नो नाममा उठेका शेयरसम्बन्धी विवाद र जनचासोका विषयलाई मध्यनजर गर्दै पदबाट राजीनामा दिएका छन्। उनले मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा नागरिकस्तरबाट उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको बताएका छन्।

गुरुङले आफ्नो लागि पदभन्दा ठूलो नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग तीव्र रूपमा उठिरहेको बताएका छन्। उनले विशेषगरी Gen Z आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्ने सन्देश दिएको बताए।

उनले आफ्नो कार्यकालसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले तथा पदमा रहँदा स्वार्थको द्वन्द्व (conflict of interest) नदेखियोस् भनेर तत्काल प्रभावबाट राजीनामा दिएको स्पष्ट पारे।

“मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु,” गुरुङले भने, “यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्छ।”

उनले सञ्चारकर्मी, सर्वसाधारण तथा युवाहरूलाई सत्य र पारदर्शिताको पक्षमा उभिन आह्वान गर्दै आगामी दिनमा अन्य पक्षसँग सम्बन्धित विषयहरू पनि सार्वजनिक हुँदै जाने संकेत गरेका छन्।

गुरुङको राजीनामापछि अब सरकारले उक्त विषयमा छानबिन प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया