२०८३ साल असार ११ गते बिहिबार

सब–इन्जिनियर हत्या प्रकरण : लोकसेवा प्रतिस्पर्धी मुख्य योजनाकार रहेको खुलासा

काठमाडौं, १५ फाल्गुन । सर्लाही जिल्लामा सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या प्रकरणमा लोकसेवा आयोगकै प्रतिस्पर्धी योजनाकार रहेको तथ्य खुलेको छ।

गत फागुन ३ गते साँझ गोली प्रहारबाट यादवको हत्या भएपछि प्रहरीले गरेको अनुसन्धानबाट जागिर प्राप्त गर्ने उद्देश्यले योजनाबद्ध रूपमा हत्या गरिएको देखिएको हो।

मलंगवा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका यादवको हत्या योजना गणेश महतोले बनाएको प्रहरी निष्कर्ष छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सरोज राईका अनुसार मृतक यादव र महतो लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी थिए।

प्रहरीका अनुसार वैकल्पिक सूचीको पहिलो नम्बरमा रहेका महतोले यादवलाई हटाएर आफ्नो सिट सुरक्षित गर्ने उद्देश्यले हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एसपी राईले आरोपी महतोको योजनामै हत्या भएको देखिएको बताएका छन्।

घटनामा संलग्न आरोपमा प्रहरीले गणेश महतोसहित चन्द्रकिशोर सिंह कुशवाहा र विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको छ। रामगोपालपुर नगरपालिका घर भएका मुख्य आरोपी महतो नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ परेका हुन्।

पक्राउ परेकामाथि अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाका अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया