२०८२ साल फाल्गुण २१ गते बिहिबार

गजेन्द्र नारायण सिंह अस्पताल मा निर्वाचन लक्षित RRT Team गठन

राजबिराज, १९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गजेन्द्र नारायण सिंह अस्पताल ले इमर्जेन्सी स्वास्थ्य सेवालाई थप सुदृढ बनाउन Rapid Response Team (RRT) गठन गरेको छ।

अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार, काठमाडौंलाई पत्राचार गर्दै निर्वाचनको दिन आकस्मिक उपचार सेवा प्रभावकारी, छरितो र अवरोधविहीन बनाउन विभागीय प्रतिनिधिहरू सम्मिलित विशेष टोली तयारी अवस्थामा राखिएको जनाएको छ।

अस्पताल प्रशासनका अनुसार निर्वाचनका दिन आवश्यक औषधी, उपकरण तथा मानव संसाधन तयारी अवस्थामा राखिनेछ। आपतकालीन अवस्था सिर्जना भएमा नियमित अन्तरङ्ग सेवामा असर नपर्ने गरी चिकित्सक, नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीहरू तत्काल इमर्जेन्सी सेवामा परिचालित हुने व्यवस्था मिलाइएको छ।

गठित RRT Team मा डा. सन्दीप कुमार शाह (Chief) र डा. अमित कुमार यादव (Coordinator) सहित विभिन्न विभागका चिकित्सक तथा कर्मचारीहरू समावेश छन्। अस्पताल सुरक्षा टोलीसमेत तयारी अवस्थामा रहने जनाइएको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा. अवधेश कुमार मिश्रका अनुसार निर्वाचन अवधिभर स्वास्थ्य सेवा निरन्तर, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन हुने सुनिश्चितता गरिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन स्वास्थ्य क्षेत्रबाट आवश्यक सम्पूर्ण सहयोग रहने अस्पतालले जनाएको छ।

प्रतिक्रिया