काठमाडौं ११ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएपछि निगमले मूल्य समायोजन गर्न बाध्य भएको जनाएको छ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यका आधारमा आगामी १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा हुने अवस्था देखिएको छ। हालकै मूल्य प्रवृत्ति कायम रहे थप १५ अर्ब रुपैयाँसम्म घाटा पुग्ने प्रक्षेपण गरिएको छ।
मार्च १ देखि २४, २०२६ सम्म पेट्रोलको खरिद मूल्य प्रति लिटर ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँले बढेको भए पनि उपभोक्तामा प्रत्यक्ष असर कम पार्ने उद्देश्यले पूर्ण समायोजन नगरिएको निगमले जनाएको छ। यसअघि मार्च १६ मा गरिएको समायोजनमा पनि सीमित वृद्धि मात्र गरिएको थियो।
यसपटक भने पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः १८४.५०, १८६ र १८७ रुपैयाँ कायम गरिएको छ भने डिजेल/मट्टितेलको मूल्य १६४.५०, १६६ र १६७ रुपैयाँ निर्धारण गरिएको छ।
नयाँ मूल्य २०८२ चैत १२ गते बिहान १२:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ। समयमै भुक्तानी गर्न नसके आपूर्ति व्यवस्थापन प्रभावित हुन सक्ने चेतावनी दिँदै निगमले हालसम्म मागअनुसार इन्धन आपूर्ति भइरहेको जनाएको छ।
निगमले उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै मूल्य समायोजन गरी घटाइने प्रतिबद्धता जनाएको छ।