काठमाडौं, २९ फागुन । निर्वाचन आयोग नेपाल ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न गरी सिट बाँडफाँट गरेको जनाएको छ।
आयोगका अनुसार ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ दलले प्रतिनिधि सभामा सिट प्राप्त गरेका छन्। सिट बाँडफाँटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ।
त्यसैगरी नेपाली कांग्रेस ले २० सिट, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले १६ सिट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ९ सिट, श्रम संस्कृति पार्टी ले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४ सिट प्राप्त गरेका छन्।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता मध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। त्यसमध्ये १ करोड ५ लाख ५९ हजार १७ (९४.५५ प्रतिशत) मत सदर भएको जनाइएको छ।
समानुपातिकतर्फ भने १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ (९६.०५ प्रतिशत) मत सदर भएको आयोगले जनाएको छ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार सम्बन्धित राजनीतिक दलहरूलाई तीन दिनभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली आयोगमा पेश गर्न पत्राचार गरिएको जानकारी दिएको छ।