राजविराज, १२ श्रावण । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सप्तरीको राजविराज र रुपनीमा प्रदर्शन गरिएको छ।
हिन्दु सम्राट संघको अगुवाइमा प्रदर्शनकारीहरूले राजविराजस्थित नेता चोक तथा रुपनी बजार क्षेत्रमा टायर बालेर विरोध जनाउँदै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
संघका नेता सुरेन्द्र दासको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्रसमेत बुझाइएको छ। ज्ञापनपत्रमा घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन माग गरिएको छ।
उक्त घटना सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने क्रममा दुई समूहबीच विवाद भई झडप भएपछि भएको थियो। झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो।
घटनामा प्रहरी र प्रदर्शनकारीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।