बढी शुल्क असुलेर परीक्षा दिनबाट वञ्चित गरिएको आरोप
राजविराज, २ चैत। सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय खुदिबखारी कुपही मा अध्ययनरत डिप्लोमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरूले कक्षा सञ्चालन नगरेको तथा बढी रकम असुलेर परीक्षा दिनबाट वञ्चित गरिएको आरोप लगाउँदै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन्।
शैक्षिक सत्र ०८१/०८२ मा डिप्लोमा सिभिल इन्जिनियरिङको तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका अनुसार पहिलो सेमेस्टरमा केही दिन मात्र कक्षा सञ्चालन भएको थियो। त्यसपछि दोस्रो र तेस्रो सेमेस्टरमा भने एक दिन पनि कक्षा सञ्चालन नभएको उनीहरूको गुनासो छ। नियमित पढाइ नभएपछि विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको उनीहरूले बताएका छन्।
विद्यार्थीहरूले परीक्षा फारम भर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ले तोकेको शुल्क प्रति विद्यार्थी ५०० रुपैयाँ भए पनि विद्यालयले भने २ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने दबाब दिएको आरोप लगाएका छन्। शुल्क तिरेपछि पनि रसिद नदिइएको र तोकिएको शुल्क मात्र दिन खोज्दा विद्यालयले फारम नै नलिएको उनीहरूको भनाइ छ।
विद्यार्थी अंशु कुमार मण्डलका अनुसार पटक–पटक विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग मौखिक रूपमा सम्पर्क गर्दा “फारम भरिदिएको” भन्ने जवाफ दिइएको थियो। तर २०८२ फागुन २९ गतेदेखि सुरु भएको परीक्षा का लागि कोअर्डिनेटर इन्जिनियर दिनेश साहसँग प्रवेशपत्र माग्दा उपलब्ध गराइएन। यस कारण आफू लगायत केही विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको मण्डलले बताएका छन्।
यस घटनापछि आक्रोशित विद्यार्थीहरूले २०८२ फागुन २९ गते विद्यालयको कार्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दीपछि केही विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको भए पनि आफूलाई भने प्रवेशपत्र नदिई परीक्षामा सहभागी हुन नदिएको उनीहरूको गुनासो छ।
विद्यार्थीहरूले विद्यालयका प्राचार्य, कोअर्डिनेटर लगायत संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गर्न र आफूहरूलाई न्याय दिलाउन माग गरेका छन्। साथै जिम्मेवारी पूरा नगरेको अवस्थामा भ्रष्टाचार ऐन अनुसार कारबाही गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा गरिएको छ।
उक्त ज्ञापनपत्रको बोधार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मधेश प्रदेशको शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला शिक्षा समन्वय इकाइ तथा प्रहरी चौकी सखडामा समेत पठाइएको छ।
ज्ञापनपत्रमा अंशु कुमार मण्डलसहित अरबिन्द्र कुमार यादव र कृष्ण कुमार महतो लगायत विद्यार्थीहरूको हस्ताक्षर रहेको छ।