२०८३ साल ब‌ैशाख ९ गते बुधबार

निर्वाचन: बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान, ६ प्रकारका परिचयपत्र मान्य

काठमाडौं, १९ फाल्गुन । बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन आयोग ले तोकेका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम भएका मतदाताले तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न सक्नेछन्। आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही प्रयोग गर्नुपर्नेछ। उक्त परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) मध्ये कुनै एक आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ।

मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। मतदाताले आफ्नो पालोअनुसार शान्तिपूर्ण र मर्यादित रूपमा मतदान गर्नुपर्ने आयोगले जनाएको छ।

शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैंले मतदान गर्न कठिनाइ हुने व्यक्तिका लागि विशेष सहजीकरणको प्रबन्ध गरिएको छ। यस्ता मतदाताले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट सहयोग लिन सक्नेछन्।

आयोगले सबै मतदातालाई आफ्नो मतदान केन्द्र सुनिश्चित गरी परिचय खुल्ने कागजात साथमा ल्याई अनुशासित ढंगले मतदान प्रक्रियामा सहभागी भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आह्वान गरेको छ।

प्रतिक्रिया