२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

मबिब क्याम्पसकाे परीक्षा केन्द्र स्थानान्तरणविरुद्ध विद्यार्थी आन्दोलित

राजबिराज, ६ श्रावण । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मबिब) का विद्यार्थीहरूले परीक्षा केन्द्र अन्यत्र सारिएको विरोधमा आन्दोलन थालेका छन्।

भोलिबाट सुरु हुने एलएलबी, बीबीएस तथा विज्ञान संकायअन्तर्गतका नियमित परीक्षा मबिब क्याम्पसबाट सिरहाको जे.एस. मुरर्का क्याम्पसमा सारिएको सूचना आएपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन्।

विद्यार्थीहरूले मबिब क्याम्पसको मूलगेटमा टायर बालेर विरोध जनाएका छन्। उनीहरूले "क्याम्पस प्रशासन मुर्दाबाद", "परीक्षा नियन्त्रण कार्यालय मुर्दाबाद", "आर्थिक चलखेल गरी परीक्षा केन्द्र सार्न पाइँदैन" जस्ता नारासहित प्रदर्शन गरेका छन्।

प्रदर्शनकारी विद्यार्थीहरूले परीक्षा केन्द्र सरुवाको निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूका अनुसार परीक्षा केन्द्र स्थानान्तरण प्रक्रियामा पारदर्शिता नभएको र आर्थिक चलखेल भएको आशंका गरिएको छ।

आन्दोलित विद्यार्थीहरूको भनाइमा करिब ५०० बढी परीक्षार्थी मबिब क्याम्पसका हुन् र उनीहरूलाई सहज ढंगले परीक्षा दिन पाउने अधिकारबाट वञ्चित गरिएको छ।

यस विषयमा परीक्षा नियन्त्रण कार्यालय र सम्बन्धित निकायको आधिकारिक धारणा भने आउन बाँकी छ।


प्रतिक्रिया