राजविराज, २९ श्रावण । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले सिडिओ भुपेन्द्र थापा विरुद्धको संघर्षका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
महासंघ सप्तरीकाद्वारा पुर्व निर्धारित कार्यक्रम अन्तर्गत पाँचौदिन सोमबार सिडिओ थापा र प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्की विरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेको हो ।
सिडिओ – एसपी मुर्दावाद, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, संविधानको रक्षा गर, असक्षम सिडिओलाई सरुवा गर, आत्मालोचनासहित प्रेस स्वतन्त्रता विरोधी उर्दि फिर्ता गर, पत्रकार कुटपिट गर्ने प्रहरीलाई कारबाही गर सहितका विभिन्न नाराजुलुस सहित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कार्यालयबाट निकालिएको विरोध जूलूस जिल्ला प्रशासन कार्यालय अगाडि हुँदै नगर परिक्रमा गरि पुन: महासंघको कार्यालय पुगेको थियो ।
महासंघले श्रावण २६ गते घोषित संघर्षका कार्यक्रम अन्तर्गत श्रावण २७ गते शनिवार: मौन जुलुस प्रदर्शन गर्ने, २८ गते आईतवार: मैनबत्ती जुलुस प्रदर्शन गर्ने, २९ गते सोमबार: सिटि जुलुस प्रदर्शन गर्ने, ३० गते मंगलवार: १ घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, ३१ गते बुधवार: २ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने, ३२ गते बिहीवार: ३ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने र भदौ १ गते शुक्रवार: २४औं घण्टे रिले अनसन बस्ने संघर्षका कार्यक्रम तय गरेका छ्न ।