काठमाडौं, १६ कात्तिक । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ४,४०० किलोग्राम तौलको ‘सीएमएस–३’ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
आइतबार साँझ प्रक्षेपण गरिएको यो उपग्रह भारतबाट अहिलेसम्म प्रक्षेपण गरिएका सबैभन्दा भारी उपग्रहमध्ये एक हो । इसरोका अध्यक्ष वी. नारायणनले एलभीएम–३ एम–५ रकेटमार्फत सीएमएस–३ उपग्रहलाई तोकिएको कक्षमा सफलतापूर्वक स्थापना गरिएको जानकारी दिएका छन् ।
“म सम्पूर्ण इसरो टोली र सबै साझेदारहरूलाई बधाई दिन्छु, आजको सफलताले भारतको अन्तरिक्ष क्षमतामा अर्को गौरव थपेको छ,” अध्यक्ष नारायणनले भने ।
उनका अनुसार आर्थिक वर्षको अन्त्यसम्ममा भारतले थप सात वटा उपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ । साथै, भारतको पहिलो मानवरहित अन्तरिक्ष अभियान ‘गगनयान’ पनि अन्तिम तयारीको चरणमा पुगेको उनले जनाएका छन् ।
इसरोका अनुसार ‘सीएमएस–३’ एक बहु–ब्यान्ड सञ्चार उपग्रह हो, जसले भारतको सञ्चार सेवा विस्तार र गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।