२०८३ साल ब‌ैशाख ७ गते सोमबार

सप्तरीका एसपी केसीको गालीगलौज अडियो भाइरल, छानबिन सुरु

राजविराज, ७ वैशाख । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीसँग जोडिएको गालीगलौज र धम्कीपूर्ण भनिएको फोन अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन ५ सदस्यीय समिति गठन गरिएको छ। समितिको नेतृत्व एसएसपी कमल थापाले गरिरहेका छन्। “प्रतिवेदनका आधारमा आवश्यक कारबाही हुन्छ,” उनले बताएका छन्।

भाइरल अडियोमा एसपी केसीले सर्वसाधारणलाई लक्षित गर्दै अपशब्द प्रयोग गरेको र धम्की दिएको सुनिन्छ। उक्त संवाद सञ्चारकर्मी प्रह्लाद सिंह ‘विक्की’सँग भएको बताइएको छ, जसमा राजविराज–३ का मुस्तकिम आलमबारे पनि आपत्तिजनक टिप्पणी गरिएको दाबी गरिएको छ।

आलमले आफू अन्यायविरुद्ध बोल्दै आएका कारण एसपी केसीबाट धम्की आएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

यता, एसपी केसीसँग प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्दा फोन उठेन। जिल्ला प्रहरी कार्यालयका डिएसपी डम्बर बहादुरले भने यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन्।

प्रतिक्रिया