२०८३ साल साउन २९ गते शुक्रबार

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनुवा पुर्जी

काठमाडौं, २७ श्रावण । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई औपचारिक रूपमा थुनुवा पुर्जी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न पुर्जी दिएको हो।

प्रहरीले जारी गरेको थुनुवा पुर्जीअनुसार दिपिका सिंहको जाहेरीका आधारमा श्रेष्ठविरुद्ध मुद्दा अघि बढाइएको हो। पुर्जीमा वादी नेपाल सरकार र प्रतिवादी किशोर श्रेष्ठलाई कायम गरिएको छ।

ललितपुर महानगरपालिका–३ झम्सिखेल निवासी ५५ वर्षीय श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भएकाले हिरासतमा राखिएको पुर्जीमा उल्लेख छ।

श्रेष्ठलाई बुधबार ललितपुरको बागडोलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठविरुद्ध दर्ता भएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया