राजविराज, बैशाख ९ — सोधपुछका लागि बोलाइएका सप्तरीका एक अभियानतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रुपनी गाउँपालिका–१ निवासी अभियानता किरणकुमार जयसवाल (राजु)लाई बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय रुपनीले मंगलबार चलानी नम्बर ३८९ उल्लेख गर्दै जयसवाललाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन पत्रमार्फत आग्रह गरेको थियो। सोही अनुरोधअनुसार बुधबार दिउँसो कार्यालय पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार जयसवाललाई विद्युतीय कारोबारसम्बन्धी उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो। प्रारम्भिक रूपमा सोधपुछका लागि मात्रै बोलाइएको भनिए पनि अनुसन्धानका क्रममा जयसवालकै सामाजिक सञ्जालसँग सम्बन्धित विषय पुष्टि भएको प्रहरीको दाबी छ।
“सोधपुछबाट सम्बन्धित सामाजिक सञ्जाल जयसवालकै रहेको देखिएको छ,” डीएसपी पुरीले भने, “थप अनुसन्धानका लागि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम पाँच दिनको म्याद थप गरिएको छ।”
प्रहरीका अनुसार जयसवालविरुद्ध रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले विद्युतीय कारोबार ऐनअन्तर्गत उजुरी दिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।