राजविराज, ९ बैशाख — नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा देखिएको बेथिति, मनोमानी, दमन र अपारदर्शिताविरुद्ध सह–सचिव (खुल्ला) कृष्ण कुमार मण्डल धानुकले दोस्रो चरणको धर्ना कार्यक्रम सुरु गरेका छन्।
मागहरू पूरा नभएपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखि धर्ना सुरु गरिएको आयोजक पक्षले जनाएको छ। आन्दोलनमार्फत संस्थाभित्र देखिएका विभिन्न समस्याप्रति ध्यानाकर्षण गराउँदै पारदर्शिता, सुशासन र जवाफदेही नेतृत्वको माग गरिएको छ।
आन्दोलनकारीहरूले “पत्रकारको आवाज दबिन्न”, “विधिभन्दा माथि कोही छैन”, “पारदर्शिता बिना संस्था हुँदैन” र “दमन होइन, अधिकार चाहिन्छ” जस्ता नारासहित आन्दोलनलाई अघि बढाएका छन्।
धर्नामार्फत सचिव पदसम्बन्धी अन्योल तत्काल अन्त्य गरी औपचारिक निर्णय सार्वजनिक गर्न, नयाँ सदस्यता पारदर्शी र निष्पक्ष रूपमा वितरण गर्न, सल्लाहकारहरूको नाम आधिकारिक रूपमा समावेश गर्न तथा पत्रकारहरूको हकहित, सुरक्षा र क्षमता विकासका ठोस कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।
त्यस्तै, आर्थिक गतिविधि तथा आय–व्यय विवरण सार्वजनिक गर्न, साधारण सभा तथा सदस्यता नवीकरण नियमित गर्न, नेतृत्वका कमजोरीबारे स्पष्ट सार्वजनिक जवाफ दिन र विधानको अक्षरशः पालना गर्नुपर्ने मागसमेत राखिएको छ।
आयोजकले संस्थाभित्रको लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाउँदै “के नेतृत्वले काम नगरे प्रश्न उठाउन पाइँदैन?”, “के अध्यक्षका सबै निर्णय नै संगठनका निर्णय हुन्?” र “के निर्णयको विरोध गर्नु संगठनको विरोध हो?” जस्ता प्रश्न सार्वजनिक गरेका छन्।
साथै, अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा स्पष्टीकरण वा कारबाही गर्नु कत्तिको उचित हो भन्ने विषयमा पनि गम्भीर चासो व्यक्त गरिएको छ। आयोजकले विधिसम्मत शासन कायम गर्ने कि मनपरी निर्णय स्वीकार गर्ने भन्ने विषयमा स्पष्ट धारणा माग गरेका छन्।
धर्ना कार्यक्रममार्फत “संस्था बचाऔं, मनपरी हटाऔं” भन्ने मूल नारासहित संस्थागत सुधारको मागलाई सशक्त रूपमा अघि सारिएको छ।