२०८३ साल असार १० गते बुधबार

गजेन्द्रनारायण अस्पतालमा सुत्केरीको मृत्यु प्रकरण : अस्पताल अगाडि प्रदर्शन

राजविराज, १० फाल्गुन । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल मा उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल अगाडि प्रदर्शन भएको छ।

मृतकका आफन्त र स्थानीयवासीले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र क्षतिपूर्तिको मागसहित नाराबाजी गरेका छन्। प्रदर्शनका कारण केहीबेर सडकसमेत अवरुद्ध भएको थियो।

छिन्नमस्ता गाउँपालिका–५ की २१ वर्षीया सुजानदेवी सदा गर्भावस्थामा पीडा सुरु भएपछि शुक्रबार अस्पताल भर्ना भएकी थिइन्। शनिबार चिकित्सकले गर्भमा रहेको शिशुले दिसा निलेको भन्दै तत्काल शल्यक्रिया गरेका थिए। शल्यक्रियापछि पोस्ट–अपरेटिभ वार्डमा राखिएकी उनको अवस्था सामान्य रहेको बताइए पनि आइतबार बिहान मृत्यु भएको परिवारले जनाएको छ।

परिवारका अनुसार बिहान करिब ३ बजे बान्ता गर्न थालेपछि चिकित्सक खोज्दा वार्डमा स्वास्थ्यकर्मी नभेटिएको थियो। उपचारमा लापरबाही भएको दाबी गर्दै उनीहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

यता अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा शल्यक्रिया विशेषज्ञ दिलीप साह ले शल्यक्रियामा कुनै त्रुटि नभएको बताएका छन्। बान्ता हुँदा अन्न श्वासनलीमा अड्किएर मृत्यु भएको उनको भनाइ छ।

घटनापछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था बनेको छ भने सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ।



प्रतिक्रिया