कृष्ण मण्डल
राजविराज, ३ चैत । जनमत पार्टीकाे राष्ट्रिय अध्यक्ष डाक्टर सी. के. राउतले निर्वाचनमुखी राजनीतिबाट सन्यास लिने घोषणा गरेसँगै त्यसले व्यापक बहस सिर्जना गरेको छ। विभिन्न क्षेत्रका व्यक्तिहरूले फरक–फरक प्रतिक्रिया जनाएका छन्।
सप्तरी–४ बाट जसपा नेपाल की प्रतिनिधिसभा सदस्य पदकी प्रत्याशी बबिसिंह यादव ले उक्त निर्णयलाई “साहसी र सराहनीय” भन्दै प्रशंसा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो कदमले नेताहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्न प्रेरित गर्ने उल्लेख गरेकी छन्।
यादवले वर्तमान राजनीतिक परिवेशमा मुद्दाहरू कमजोर बन्दै गएको र नेताहरूको स्वार्थ बढ्दै गएको उल्लेख गर्दै सिद्धान्त र जिम्मेवारीलाई प्राथमिकता दिने निर्णय अनुकरणीय भएको धारणा राखेकी छन्।
यसैबीच, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वासले पनि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै विषयलाई थप बहसको केन्द्रमा ल्याएका छन्।
तर राष्ट्रिय मानवअधिकार आयोग का सदस्य मिहिर ठाकुरले भने फरक मत राख्दै अहिले नै सन्यास लिनु उपयुक्त नभएको बताएका छन्। उनले “सिके जीलाई राजर्षि बन्न सुझाव दिन्छु, बरु पुराना नेताहरूले पद त्याग्नु उपयुक्त हुन्छ” भन्ने प्रतिक्रिया दिएका छन्।
राउतको निर्णयले एकातर्फ प्रशंसा बटुलिरहेको छ भने अर्कोतर्फ यसले सक्रिय राजनीतिक भूमिकाबारे गम्भीर प्रश्न पनि उठाएको छ।