२०८३ साल ब‌ैशाख १६ गते बुधबार

सरकार चलाउनेहरु नै लुटमा व्यस्त भए : पूर्वसभामुख दमननाथ ढुंगाना

राजविराज, ३० असाेज । पूर्वसभामुख दमननाथ ढुंगानाले राज्य चलाउने नेताहरु नै देश लुट्नमा व्यस्त रहेको आरोप लगाएका छन् । जनअपेक्षा पूरा गर्नुभन्दा आफ्नो मान्छे नियुक्ति गर्न र कमाउन नेताहरु लागेको उनको आरोप छ । 

सप्तरीको राजविराजमा मंगलबार साँझ संचारकर्मीहरुसँगको अन्तरक्रियामा उनले राज्यको दोहन गर्नमा मुख्य तीन राजनैतिक दल लागेको आरोप लगाए । जनआन्दोलन, मधेश आन्दोलन लगायतका परिवर्तनका लागि भएका आन्दोलनले ल्याएको परिवर्तनपछि जनअपेक्षाअनुसार काम हुन नसक्दा नैराश्यता बढेको उनले बताए ।

‘जनता बेवारिसे भएका छन्, जनताका समस्या घटेका छैनन्, नेताहरु कम्पनी खडा गरेजस्तो पार्टी खडा गरेका छन्,’ पूर्वसभामुख ढुंगानाले भने, ‘देश बनाउनका लागि कुनै पार्टी लागेका छैनन् ।’

कालोबजारी गर्नेहरुलाई राजनीतिक दलले टिकट दिएर उम्मेदवार बनाउने र जनताले पनि त्यस्तै उम्मेदवारलाई स्वीकारेर मत दिनुपर्ने बाध्यात्मक परिस्थिति रहेको ढुंगानाले उल्लेख गरे । उनले भने, ‘करोडौं-करोड खर्च गरेर टिकट बेचिन्छ, निर्वाचनमा राक्षसी प्रवृत्ति आएको छ ।’

संविधान संशोधन र पुनरावलोकन आवश्यक रहेको बताउँदै देशका मुख्य तीन पार्टीबाट समस्या समाधान नभएकाले नागरिक तहबाटै विकल्पमा अर्को पार्टीको स्थापना हुनुपर्ने ढुंगानाको राय छ । राणाकालका क, ख र ग श्रेणीमा राणाहरुलाई विभाजन गरिएजस्तै अहिले 'क' श्रेणीमा रहेका नेताहरुले भ्रष्टाचार गरे पनि तिनीहरुलाई कुनै कारबाही नहुने गरेको ढुंगानाले आरोप लगाए । ‘कानुनी राज्य छैन्, अदालत सकसमा छ, न्यायाधीश नियुक्तिमा दलीय भागबन्डा छ,’ पूर्वसभामुख ढुंगानाले भने, ‘लुट चलिइरहेको छ, सरकारै लुट गरिरहेको छ ।’

प्रतिक्रिया