२०८३ साल साउन २९ गते शुक्रबार

सुनसरी घटनाको समाधान शान्तिपूर्ण वार्ताबाट खोज्न उपराष्ट्रपतिको आग्रह

काठमाडौं, १३ श्रावण । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरीसहित तराईका विभिन्न जिल्लामा भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै समस्याको समाधान शान्तिपूर्ण वार्ता र संवादबाट खोज्न सबै पक्षलाई आग्रह गरेका छन्।

बुधबार जारी गरेको वक्तव्यमा उनले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उपराष्ट्रपति यादवले नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप र सामाजिक सद्भावलाई साझा सम्पत्ति भएको उल्लेख गर्दै सबै नागरिकलाई संयमता अपनाउन, हिंसा र मुठभेडबाट टाढा रहन तथा जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गरेका छन्।

उनले कुनै पनि समस्याको दीर्घकालीन समाधान शान्तिपूर्ण संवाद र वार्तामार्फत सम्भव हुने उल्लेख गर्दै आफ्ना माग तथा विचार संयमित र जिम्मेवार ढंगले प्रस्तुत गर्न सबै पक्षसँग अनुरोध गरेका छन्।

साथै, स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजले आपसी समन्वय गर्दै विश्वासको वातावरण निर्माण गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया