२०८३ साल साउन २९ गते शुक्रबार

साम्प्रदायिक अफवाहको आडमा रड प्रहार, एक घाइते; आरोपी प्रहरी नियन्त्रणमा

कृष्ण मण्डल 

राजविराज, साउन १३ । सप्तरीको राजविराज नगरपालिका–९ मा साम्प्रदायिक विषयलाई जोडेर अफवाह फैलाउने प्रयाससँगै एक व्यक्तिमाथि फलामको रड प्रहार भएको घटनामा प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो करिब १२ः३० बजे गीता पेट्रोल पम्प नजिक (आँखा अस्पताल–रुपनी सडक खण्ड) राजविराज–९ निवासी करिब ३५ वर्षीय फौदार सदाले विष्णुपुर गाउँपालिका–७ निवासी करिब ३५ वर्षीय जागेश्वर मण्डलमाथि फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घाइते मण्डललाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाइएको छ। घटनालगत्तै प्रहरीले फौदार सदालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सामाजिक सञ्जाल र स्थानीय तहमा फैलाइएको साम्प्रदायिक अफवाह निराधार रहेको पुष्टि भएको छ। घटनाको कारण साम्प्रदायिक विवाद नभई व्यक्तिगत रिसइबी रहेको प्रहरीले स्पष्ट पारेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक **हेमराज घिमिरे**ले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। साथै, अपुष्ट र भ्रामक सूचना फैलाएर सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न नहुन तथा यस्ता अफवाहमा विश्वास नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया